बिनायक अधिकारी
आदरणीय हजुरआमा
दण्डवत सेवा ढोग
हिजो आज हजुरका हरेक फ़ोनमा नाती कहिले आँउछौ ? मेरो जेठो नाती गालामा चुप्प मुइ खाएको पहिलो नाती भनिरहनु हुन्छ । मलाइ पनि आएर तपॉंइ संगै बस्ने मन नभएको होइन । अस्ति तपॉंइको ८६ औं जन्मदिनमा पनि म छुटें । देशमै भएको भए ऑंउथें पनि होला । जे होस टाढा रहेर पनि अझै हजुरका सुस्वास्थ्यको कामना गरिरहेको छु ।
असार मास कान्ले खेतमा खाजा लिएर जॉंदा डोकामाथि मलाइ बोकेर लानुभएको कुराले अनि बुवा सरुवा भएर रोल्पा जॉंदा मेरो नाती त यहिं बस्छ लान दिन्न भनेर घरमै राख्नुभएको कुराले पनि यहॉंहरुको म प्रति कति माया थियो भनेर म अहिले मेरा छोरी छोरी भएपछि अझै धेरै बुझेको छु । सानैमा हजुरबुवाको घुडों समातेर पिढिंमा बसेको संझिरहन्छु अनि हजुरबुवा जता गएपनि हात समातेर हिडेको संझिरहन्छु । आमा तपॉंइलाइ त्यो दिन कति कुन मन लाग्यो है हजुरबुवाले म कीन दुख्यो भनेर स्कुल जान नमान्दा कानमा समातेर लग्नुभएको र मेरो कान दुखेको दिन । आमा तपॉंइले पकाएको बहाने भात र गौं को ढिडो पकाउन नातिका भागमा नपरोस पहिल्यैको भात खाओस भनेर बोलाएको संझिरहन्छु । मलाइ थाहा छ हाम्रो ठुलो जहान, संयुक्त परिबारमा हुदॉं कहिलेकॉंहि खाजा थोरै भए हजुरबुवाका थालका मकैका ठेट्ना पर्खिएर बस्थें अनि यसो हेरेर दिनुहुन्थ्यो । नाती भोकायो कि भन्ने कुरा तपॉंइलाइ परिरहन्थ्यो । आमाको काम मैले जाने देखि संधै परिवारको हेरचाह मैं बित्थ्यो । बिहान चिया दियो, फेरि खाना बनायो ख्वायो चुलो चौको । धन्न बाहिरका कामहरु गर्ने सबै मेरी आमा र काकीहरु हुनुहुन्थ्यो ।तर मलाइ थाहा छ तपॉंइलाइ चुलाको गालामै बिहान देखि रात पर्थ्यो ।
बिस्तारै ठुलो हुदै गइयो, परिवार संयुक्त बाट एकल मा गयो । हजुरबुवाका चारभाइ छोराहरु छुट्टिएर बस्ने निर्णय गर्नुभयो । सबै जग्गा ज़मीन, जिन्सी, पशु चौपायाका भाग लागे र चिट्टा थुत्ने निर्णय भयो चिट्टा जेठो छोराको म जेठो नातीले पारें र मैले जेठैको नामको भाग पारें । त्यसपछि भोलिपल्टबाट अर्को घरको माथि पकाएर खान थालियो । पुरै परिबार ४ भागमा बाडियो चारवटा भान्छा बने, चारवटा फरक खेत बने अनि हामी आफनै थोरै परिवारमा साघुरियौं । बिस्तारै अन्य चारवटा फरक घर बने । दाजुभाइमा यो तेरो यो मेरो बन्यो । हजुरबुवा आमा काकासंग बस्नुभयो । म स्कुल सकेर काठमाडौं पढ्न गएं । हजुरबुवा स्कुलको कामले र कलेज खोल्ने सम्वन्धन लिने कुराले काठमाडौं आइरहनु हुन्थ्यो । अग्लो कदमा सफा सेता दौरा सुरुवाल र कोट लगाएर हजुरबुवा ऑंउदा अर्कै खुसी भइन्थ्यो । जेठो नातीको बिहे खाने रहर हुदॉंहुदै अचानक हजुरबुवाको देहावसान भयो । हजुरबुवा बितेर तपॉंइलाइ भेट्न जॉंदा सेतो लुगामा देखेर मैले हेर्न नसकेर धेरै समय सुकाएको लुगामा ओझेल परिरहें, मलाइ तपॉंइलाइ सेतो लुगामा हेर्न सॉंच्चै गार्हो भएको थियो तर मन संहाल्नु बाहेक अर्को बिकल्प थिएन । त्यसैको अर्को बर्ष मैले बिहे गरें हजुरआमाले नातिनि बुहारी देख्न पाउनुभयो । हाम्रो छोरो भयो पनाती देख्नु भयो । हामी बिदेशियौं । हजुरआमा तगडै हुदा हामी यतैको रनभुल्लमा थियौं । हजुरबुवा बॉंचिदिएको भए दुबैजना ल्याएर अष्ट्रेलिया घुमाउन ठुलो मन थियो । नातिले चलाएको कारमा अगाडी सिटमा राखेर अष्ट्रेलियाको संसद भवन घुमाउने ठुलो रहर त्यसै तुहियो । सायद हजुरबुवाले त्यो अवसर पाएको भए नातिको आफनै पाखुरामा उभीएर गरेको सानो तिनो प्रगतिमा खुसी हुनुहुन्थ्यो होला ।
भर्खरै हजुरआमा ८ बिस पाच बसन्त पार गरेर छयासी लाग्नुभयो । अव बिस्तारै हिड्न गार्हो हुने बेला भयो । बिर्सने बानिले पनि छोप्दै लानेछ अव । जेठो नातिलाइ संगै राखेर चुप्प खाने मन छ यो सब कोरोनाले हामीलाइ यता बन्धक बनाएको छ ।न जान सकिन्छ न बोलाउन । न यताको न उताको बनाएको छ समयले । कहिले यो बोर्डर खुल्ला र यसो मेसो मिलाएर जॉंउला भएको छ । तर हामी यस्तो भइएछ यता आएर । आफन्त, चाडबाट, रितिरिवाज, बिहे, ब्रतबन्ध सबै गुमाइएछ । मात्रै यो गरें उ गरें भन्ने आत्मसन्तुष्टि । जे होस हजुरआमा म जेठो नाती संगै हुन् सकिन, टाढा छु तर आफना सबै संझिरहेछु तपॉंइ झनै बिशेष स्थानमा हुनुहुन्छ । छिट्टै भेट्न पाउने आशाका साथ पत्र बाट बिदा भएं । हजुरको सुस्वास्थ्यको कामना गर्दछु ।
हजुरको जेठो नाती
बिनायक अधिकारी